काठमाडौं । गायन तथा नृत्यमा आधारित रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सीजन–२ को हङकङ अडिसनबाट १० जना प्रतिभा काठमाडौंमा आयोजना हुने प्रतिस्पर्धाका लागि छनोट भएका छन् । इन्ट्रा ‘नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’ ले नेपालमा आयोजना गर्ने शोका लागि फेब्रुअरी १५ का दिन हङकङको जोर्डनस्थित ब्लु ओसन रेष्टुराँको सभाहलमा अडिसन कार्यक्रम आयोजना गरिएको थियो ।
दुई रियालिटी शोका अडिसन कार्यक्रम खुसी इभेन्ट्सकी प्रवन्ध निर्देशक खुसी गुरुङ, संयुक्त डान्स स्टुडियोकी सञ्चालिका सुकु लिम्बू र डिभाइन डान्स स्टुडियोकी संस्थापक सोफिया गुरुङको संयोजनमा सम्पन्न भएको हो । अडिसनबाट गायनतर्फ टोपराज तामाङ, डिकेश तामाङ, सौरभ पाख्रिन तामाङ, अनुपकुमार बराइली र बिन्नी लामा राई गरी पाँचजना छनोट भएका छन् । त्यसैगरी नृत्यतर्फ रिस्ता गुरुङ, युविका राना, आयुष्मा राई, दीक्षा गुरुङ र अञ्जली पुन गरी पाँचजना छानिएका छन् । अडिसनमा नृत्यतर्फ १४ जना तथा गायनतर्फ आठजना गरी २२ जनाले भाग लिएका थिए ।
गायनतर्फ अडिसनमा हङकङवासी गायकरगायिका सरला गुरुङ तथा मनोज गुरुङ निर्णायकको रुपमा रहेका थिए भने नृत्यतर्फको निर्णायकमा अमेरिकाबाट आएका नृत्य निर्देशक तथा मोडल शंकर बिसी तथा हङकङवासी कोरियोग्राफर तथा मिस लिम्बू ब्युटी कन्टेस्टका संस्थापक युगल पोमु थिए । अन्तर्राष्ट्रियस्तरको नेपाली गायन तथा नृत्यमा आधारित रियालिटी शोका विजेतालाई ठूलो पुरस्कार राशि प्रदान गरिन्छ ।
दुवै शोका विजेतालाई एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने भनिएको छ भने दोस्रो तथा तेस्रो हुनेलाई क्रमशः २५ तथा १० लाख रुपैयाँ प्रदान गरिने छ । ‘मेरो डान्स युनिभर्स’ अन्तर्गत हरेक एपिसोडको प्रारम्भमा प्रस्तुत गरिने सामूहिक नृत्य पनि प्रतियोगितात्मक हुने तथा विजेता टिमले २० लाख, उपविजेता टिमले १० लाख र तृतीय स्थान प्राप्त गर्ने टिमले पाँच लाख रुरुपैयाँ नगद पुरस्कार पाउने छन् ।
विश्वका विभिन्न ठूला सहरमा अडिसन लिँदै अघि बढिरहेको यस शोको पहिलो संस्करण सन् २०२३ मा आयोजना गरिएको थियो । यो वर्षको ‘मेरो भ्वाइस युनिभर्स’ दीप श्रेष्ठ, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान र अञ्जु पन्त निर्णायकको रुपमा रहने छन् । ‘मेरो डान्स युनिभर्स’ को निर्णायक मण्डलमा मिथिला शर्मा, दीलिप रायमाझी, शिल्पा मास्के, शंकर बिसी, कविराज गहतराज र किरण थापा रहने छन् ।