२०८३, कार्तिक २० गते

  • मनोरन्जन
  • सेन्सर बोर्डमा पास भयाे ‘लाज शरणम्’,...

सेन्सर बोर्डमा पास भयाे ‘लाज शरणम्’, दियो युनिभर्सल सर्टिफिकेट

सेन्सर बोर्डमा पास भयाे ‘लाज शरणम्’, दियो युनिभर्सल सर्टिफिकेट

आइतवार, फाल्गुण ११ २०८१
आइतवार, फाल्गुण ११ २०८१

  • काठमाडौं। चलचित्र ‘लाज शरणम्’ ले चलचित्र जाँचपास समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । उच्च अदालत पाटनले कांग्रेस नेता मोहम्मद आफताब आलमको क्यारिकेचर गरेको सीताराम कट्टेलको भूमिकाको प्रचारप्रसार गर्न रोक लगाएको चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिएको हो । यससँगै चलचित्र रिलिजबारे देखिएको अन्योलसमेत अन्त्य भएको छ।

    नेपालमा चलचित्र जाँचपास समितिले सेन्सर गरिएका चलचित्रलाई तीन किसिमको प्रमाणपत्र दिनेगर्छ। युनिभर्सल प्रमाणपत्र पाएका फिल्म सबैले हेर्न पाइन्छ भने ‘पीजी प्रमाणपत्र’ पाएका फिल्म बालबालिकाले अभिभावकको निगरानीमा र एडल्ट फिल्म १८ वर्षभन्दा माथिकाले मात्र हेर्न पाउँछन्।

    शुक्रबार सञ्चार मन्त्रालयमा चलचित्रको जाँच गरिएकोमा चलचित्रसँग सम्बन्धित केही कुराहरू मिलाउनुपर्ने भन्दै टोलीलाई आइतबार पनि बोलाइएको थियो। चलचित्रको स्क्रिप्ट अध्ययनका क्रममा पनि चलचित्रको विषयवस्तु सामान्य नै पाइएको बताइएको थियो। त्यसपछि चलचित्रले प्रदर्शनको अनुमति पाएको हो ।

    पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै चलचित्रविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए। आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि चलचित्रमा आलामको क्याचिकेचर गरिएको सीतारामको भूमिकाको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो। चलचित्र महाशिवरात्रीको अवसरमा प्रदर्शनमा आउँदैछ ।

    ‘लाज शरणम्’को मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस) छन् । यो चलचित्रलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् । ‘सक्किगोनि’ टिमले बनाएको यो चलचित्रमा धुर्मुससँगै विजय बराल, अर्जुन घिमिरे ‘पाँडे’, हरिष निरौला ‘कक्रोज’, सागर लम्साल ‘बले’ प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायत कलाकारको अभिनय रहेको छ ।

    जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’ यो वर्षकै प्रतिक्षितमध्येको एक सिनेमा हो । फागुन १४ गते महाशिवरात्रीको दिन यो चलचित्र रिलिज हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend