२०८३, कार्तिक १७ गते

  • विश्व
  • साउदी अरबको अल–जाफमा इतिहासमै पहिलोपल्ट भारी...

साउदी अरबको अल–जाफमा इतिहासमै पहिलोपल्ट भारी हिमपात, बढ्यो जाडो

साउदी अरबको अल–जाफमा इतिहासमै पहिलोपल्ट भारी हिमपात, बढ्यो जाडो

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • काठमाडौं । साउदी अरबलाई सामान्यतया उखरमाउलो गर्मीको देश भनेर चिनिन्छ । तर अहिले सो देशमा अत्यधिक जाडो सुरु भएको छ । साउदी अरबका केही स्थानमा भारी वर्षा र हिमपात भएपछि त्यहाँ जाडो महसुस गरिएको हो ।

    साउदीको अल–जाफ मरुभूमिमा इतिहासमै पहिलोपटक हिमपात भएको हो । हिमपातपछि अल–जाफ मरुभूमि आश्चर्यजनकरूपमा जाडो भूमिमा परिणत भएको छ । साउदी प्रेस एजेन्सीका अनुसार यसअघि अल–जाफमा हिमपात भएको कहिल्यै देखिएको थिएन । साउदीको यस घटनाले मौसमविद्हरू नै आश्चर्यमा परेका छन् ।

    साउदी अरेबियाले गत हप्तादेखि असामान्य मौसमको सामना गरिरहेको छ । गत बुधबार अल–जाफका केही भागमा भारी वर्षा र असिनाले क्षति पुर्‍याएको थियो । त्यसपछि उत्तरी सीमा, रियाद र मक्का क्षेत्रमा पनि पानी परेको थियो । मौसममा आएको परिवर्तनका कारण ताबुक र अल बाह क्षेत्र पनि प्रभावित भएका छन् । सोमबारमात्र अल जुफको पहाडी क्षेत्रमा हिमपात भएको छ । यहाँ परेको हिउँको तस्बिरले सामाजिक सञ्जालमा मानिसको ध्यान तानेको छ ।

    यूएईको नेसनल सेन्टर अफ मेटियोरोलोजी (एनसीएम) ले अरब सागरदेखि ओमानसम्म फैलिएको न्यून चापीय प्रणालीका कारण असामान्य असिना परेको जनाएको छ । यसले यस क्षेत्रमा आर्द्रताले भरिएको हावा ल्यायो, जुन सामान्यतया सुख्खा हुन्छ । 

    साउदी अरबमा हिमपात दुर्लभ हो । तर, देशको मौसम बर्सौंदेखि परिवर्तन भइरहेको छ । केही वर्षअघि जलमग्न सहारा मरुभूमिमा तापक्रममा नाटकीय गिरावट आएको थियो, जुन माइनस २ डिग्री सेल्सियससम्म पुगेको थियो । यसका लागि जलवायु परिवर्तनको व्यापक प्रभावलाई जिम्मेवार मानिएको छ ।

    बदलिँदो वायुमण्डलीय अवस्थाका कारण मरुभूमिमा हिमपातजस्ता असामान्य घटना भइरहेको विज्ञहरू बताउँछन् । यस वर्षको सुरुमा साउदी अरेबियाको राजधानी रियादमा अभूतपूर्व वर्षापछि ठूलो बाढी आएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend