काठमाडौं । भिडियो शेयरिङ एप टिकटकले आउँदो आइतवारदेखि अमेरिकामा आफ्नो सेवा बन्द गर्ने तयारी गरेको छ । संघीय प्रतिबन्ध लागू हुने बेलामा टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गर्ने योजना बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
अमेरिकामा टिकटक निकै लोकप्रिय छ । अहिले अमेरिकामा टिकटकका झन्डै १७ करोड जना प्रयोगकर्ता छन् । अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० देखि ९० दिनका लागि टिकटक बन्दको कार्यान्वयन स्थगित गर्न कार्यकारी आदेश जारी गर्ने विचार गरिरहेका द वाशिङ्टन पोस्टलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।
टिकटकमाथि प्रयोगकर्ताको डाटाको दुरुपयोग र चिनियाँ सरकारसँगको सम्बन्ध रहेको आरोप लागेको छ । पछिल्लो केही दिनयता अर्बपति एलन मस्कले टिकटक किन्ने चर्चा चलेको थियो । तर उनले किन्ने कि नकिन्ने भन्ने अझै खुलिसकेको छैन ।