काठमाडौं । प्रधानमन्त्री केपी ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार भेटवार्ता हुने भएको छ । ओली र मोदीबीच आज अपराह्न ४ बजेदेखि भेटवार्ता तय भएको छ ।
आजको भेटसँगै ओली र मोदीबीच तेस्रो देशमा दोस्रो भेटवार्ता हुनेछ । शुक्रबारबाट बैंककमा बिमस्टेक शिखर सम्मेलन हुँदैछ। सम्मेलनपछि प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच औपचारिक द्विपक्षीय वार्ता हुनेछ । बिमस्टेक सम्मेलन सकिएपछि केवल २० मिनेटको लागि तय भएको वार्ता मोदी बस्ने म्यान्डेरियन ओरिन्टल होटलमा हुनेछ । वार्ता दुई प्रधानमन्त्रीबिच प्रतिनिधिमण्डल स्तरीय टोलीबीच औपचारिक रूपमा हुनेछ ।
पछिल्लोपटक प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्ने ओलीको प्रयास अहिलेसम्म सफल भएको छैन । वर्तमान सरकार बनेको अहिले नौ महिना बितिसकेको छ । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन गएको वेला गत ७ असोजमा न्युयोर्कमा ओली र मोदीबीच भेट भएको थियो ।
बिहीबार साँझ बिमस्टेक सम्मेलनअगाडि बैंककमा आयोजना गरिएको डिनरमा सँगसँगै देखिएका थिए। मोदीको अर्को छेउमा बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस बसेका थिए । मोदीसँग ओली र युनुसको पछिल्लोपटक सत्तासीन भएपछिको भेटको सन्दर्भ उत्तिकै दुर्लभ देखिन्छ ।
बंगलादेशमा गत वर्ष अगस्टमा भएको सत्तापलटपछि मोदी र युनुसबीचको यो पहिलो प्रत्यक्ष भेट हो । त्यतिबेला प्रधानमन्त्री शेख हसिना सत्ताच्युत भएपछि भारतमा शरण लिएकी थिइन्, जसले दुई देशबीचको सम्बन्धमा चिसोपन ल्याएको थियो।