काठमाडौँ । प्यालेस्टाइनी विद्रोही लडाकु हमासको बन्धकमा रहेका कञ्चनपुरका विपिन जोशी दुई वर्षअघि नै मारिएको पुष्टि भएको छ । अन्तर्राष्ट्रिय रेडक्रसले मंगलबार गरेको डिएनए परीक्षणमा विपिनलाई बन्धक बनाएको एक महिनापछि नै हत्या गरिएको आशंका गरिएको छ । इजरायली सेनाले पनि त्यस्तै अनुमान गरेको छ ।
हमासले सोमबार मात्र विपिन जोशीको मृत्यु भइसकेको जानकारी गराएको थियो । हमासले इजरायली सेनाको हवाई आक्रमणमा उनी मारिएको दाबी गरेको थियो । तर इजरायली सेनाले त्यसको प्रतिवाद गर्दैै हमासले बन्धक बनाएको एक महिनापछि नै हत्या गरेको आरोप लगाएको छ । जसकारण विपिनको कसले हत्या गरेको हो भन्ने अझै खुल्न सकेको छैन ।
जोशीको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले मंगलबार इजरायलका परराष्ट्र मन्त्रालयका महानिर्देशक बार तालसँग टेलिफोन वार्ता गरेका छन् । सो वार्ताको क्रममा महानिर्देशक बारले हमासको कब्जामा रहेको जोशीको निधन भएको र उनको शव पहिचान भइसकेको जानकारी गराउँदै जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
हमासले विपिन जोशीको शव असोज २७ गते रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेपछि तेल अविवस्थित फरेन्सिकमा शव पहिचान भएको इजराइलस्थित नेपाल दूतावासले जानकारी गराएको मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शव नेपाल ल्याइसकेपछि उनको मृत्युका कारण र परिस्थितिको सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन तथा परिवारले पाउनुपर्ने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा र अन्य सुविधाका लागि आवश्यक पहल जारी राखिने मन्त्रालयले जनाएको छ ।