काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले थुनामुक्त गर्न अस्वीकार गरेपछि उनकी पत्नी निकिता पौडेलले असन्तुष्टि जनाएकी छन् । उनले आफू नथाकेको र नहारेको बताएकी छन् ।
संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्ने उनको भनाइ छ । सोमबार बेलुका सामाजिक सञ्जालबाट प्रतिक्रिया जनाउँदै उनले श्रीमानले न्याय नपाएसम्म लडिरहने पनि उल्लेख गरेकी छन् ।
‘म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु। यो सरकार, उसले साँधेको प्रतिशोध र गरेको गरेको अन्यायविरुद्ध निरन्तर लड्छु। मेरो श्रीमानले न्याय नपाएसम्म लडिरहन्छु,’ उनले भनेकी छन् ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेले पेस गरेको निवेदनमा आदेश दिँदै उनले मागेबमोजिम नहुने फैसला गरेका छन् ।
लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता,२०७४ को दफा ६८ बमोजिम बैंक जमानत लिइ ऐनको दफा ७१ बमोजिम आदेशको माग गर्दै साउन १९ गते अदालतमा निवेदन दिएका थिए । उनले निवेदनसँगै बिगो बराबरको रकम बैंक ग्यारेण्टी लिएर रिहाइ माग गरेका थिए । तर अदालतले त्यसलाई अस्वीकार गरेपछि रवि थुनामै बस्नुपर्ने भएको छ ।