काठमाडौं । भारतको उडिसा राज्यस्थित भुवनेश्वर पाटियामा रहेको केआइआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको छ । छात्राबासमा बस्दै आएकी उनी आइतवार मृत अवस्थामा फेला परेकी थिइन् ।
बिटेक तेश्रो वर्षमा अध्ययन रहेको र उनको शंकास्पद मृत्युपछि विद्यार्थीहरुले विश्वविद्यालय क्याम्पस परिसरमा न्यायका लागि आन्दोलन गरिरहेका छन् । घटनापछि छात्राबासमा रहेका नेपाली विद्यार्थीहरुलाई आइतबारसम्म क्याम्पस छाड्न प्रशासनले आदेश जारी गरेको छ ।
घटनाबारे दिल्लीस्थित नेपाली दूतावासले कुनै प्रतिक्रिया दिएको छैन । विश्वविद्यालययले आइतवारसम्म क्याम्पस छाड्न त्यहाँका सबै नेपाली विद्यार्थीलाई निर्देशन जारी गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार सोही विश्वविद्यालयमा मेकानिकल इन्जिनियरिङ अध्ययन गर्दै आएका विद्यार्थीसँग उनको तनावपूर्ण व्यक्तिगत सम्बन्ध रहेको र उनको दुव्र्यवहारका कारण उनले मृत्युवरण गरेको आशंका गरिएको छ । लम्सालको शव भुवनेश्वरको क्यापिटल अस्पतालमा राखिएको छ । प्रकृति लम्सालले युवकले आफूलाई गरेको दुव्र्यवहारबारे विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयलाई जानकारी दिएको तर क्याम्पसले चासो नराखेको समाचारमा उल्लेख छ ।
घटनापछि आक्रोसित विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रेर क्याम्पसको प्रबेशद्धारा बाहिर नाराबाजी गरेका थिए । उनीहरुले प्रकृतिलाई न्या दिन तथा विश्वविद्यालयका अधिकारीहरुको लापरबाहीका लागि जबाफदेहीता माग गरेका छन् । घटनापछि विश्वविद्यालय बाहिर सुरक्षाकर्मी परिचालन गरिएको छ ।