काठमाडौं । रास्वपाका सांसदद्वय सोविता गौतम र सुमना श्रेष्ठले संसदमा बोल्न नदिएको भन्दै गरेको प्रचारबाजीप्रति सभामुख दवेराज घिमिरे आक्रोशित भएका छन् ।
सोविताले माघ २७ गते पारित भएको विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे बोल्न माघ २८ गते आकस्मिक समय मागेकी थिइन्। सभामुखले विधेयक पारित भइसकेका आकस्मिक विषय हुन नसक्ने बताएका थिए ।
विधेयक पारित गर्नुअघि नै सभामुखले कानूनमन्त्री, उपसभामुख तथा प्रमुख पाँच दलका प्रमुख सचेतकसँग छलफल गरेको र त्यहीँ भएको सहमतिअनुसार नै विधेयक अगाडि बढाएको भने पनि गौतमले प्रोसेस बिग्रिएको भन्दै बोल्न माग गरेकी थिइन् ।
फागुन ५ गतेको बैठक सुरुवातको जनाउ घण्टी बज्न सुरु भएपछि सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थी समस्यामा परेको भन्दै सभामुखसँग समय माग गरेकी थिइन् । सभामुख आफ्नो च्याम्बरबाट उठेर बैठक कक्षतिर प्रवेश गरेलगत्तै सुमना आइन् । सभामुख घिमिरेले ‘जनाउ घण्टी सुरु भएकाले त्यस विषयमा मैले बुझ्न पाइनँ । तपाईंले अगाडि नै विषय जानकारी गराउनुभएको भए पनि हुन्थ्यो । उठाउने विषय हो भने (माननीय अशोक चौधरीतर्फ देखाउँदै) उहाँलाई भन्नुहोला, उहाँले राखे पनि हुन्छ । उहाँले समय लिइसक्नुभएको छ । मैले तपाईंको विषय बुझ्न समय भएन । या त भोलि राख्नुहोला’ भनेका थिए । त्यसबेला रास्वपा प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए । दलीय अनुरोध पनि नभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।
आकस्मिक विषय उठाउने नै हुँदा उपसभामुखले चेयर गरेको बेला सभामुखलाई विषय बुझाएर राख्न सकिन्थ्यो । त्यो पनि अभ्यास छ । तर, संसदीय प्रक्रियाभन्दा बाहिर गएर, मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजिएको भन्दै सभामुख रुष्ट भएका छन् । आकस्मिक समयमा बोल्न नपाएको भन्दै सुमनाले सोमबार संसद् बैठक बहिष्कार गरेकी थिइन् ।