२०८३, कार्तिक २० गते

  • समाचार
  • जेनेभा उड्नुअघि परराष्ट्रमन्त्री राणाले गरिन् ओडिसाका...

जेनेभा उड्नुअघि परराष्ट्रमन्त्री राणाले गरिन् ओडिसाका मुख्यमन्त्रीलाई फोन

जेनेभा उड्नुअघि परराष्ट्रमन्त्री राणाले गरिन् ओडिसाका मुख्यमन्त्रीलाई फोन

शनिवार, फाल्गुण १० २०८१
शनिवार, फाल्गुण १० २०८१
  • काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको ओडिसास्थित केआइआइटीमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित घटनाक्रमबारे शनिबार ओडिसाका मुख्यमन्त्री मोहनचरण माझीसँग टेलिफोनमा कुराकानी गरेकी छन् ।

    परराष्ट्रमन्त्री राणाले माझीसँग लम्सालको मृत्युको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीका साथै त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षित वातावरणमा पठनपाठनको व्यवस्थाका लागि आग्रह गरेको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई कलेजले बर्खास्त गरेकोमा उनीहरुलाई अस्थायी नभएर स्थायी रुपमै हटाउन ओडिसा सरकारले नै पहल गरिदिनका लागि उनले आग्रह गरेकी थिइन् । यस विषयमा कलेजमा समिति बनेको र त्यहाँ नयाँ दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिक कर्मचारी खटिएकाले समन्वयका लागि मन्त्री राणाले मुख्यमन्त्री माझीसँग आग्रह गरिन् । राणा आजै स्विट्जरल्यान्डकाे जेनेभा प्रस्थान गर्ने भएकी छन् ।

    मुख्यमन्त्री माझीले घटनालाई ओडिसा राज्यले नै गम्भीर रुपमा लिएको र लम्साललाई न्याय र दोषीमाथि कारबाहीका लागि उच्चस्तरीय छानबिन समिति गठन गरेर काम सुरु गरिएको जानकारी गराएका थिए । साथै, उनले त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीलाई सुरक्षित रुपमा पठनपाठनको व्यवस्थाका लागि उडिसा सरकारका तर्फबाट आवश्यक सबै सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन् ।

    परराष्ट्र मन्त्रालय र नेपाली दूतावास र ओडिसा सरकार, केआइआइटी प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर समन्वयका साथ काम गरिरहेका छन् ।

    केआइआईटीले नेपाली विद्यार्थीलाई फिर्ता हुन पटकपटक आह्वान गरे पनि केही संख्यामा मात्रै विद्यार्थी फिर्ता भएका छन् । करिब ८५ प्रतिशत विद्यार्थी फिर्ता भएका छैनन् । उनीहरू राम्रो विकल्प भेटिए नेपालकै कलेजमा अध्ययन गर्ने निष्कर्षमा पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to newspost7.com  | Site By : SobizTrend